रुपन्देही उद्योग संघले बुटवलमा सञ्चालन गरेको औद्योगिक प्रदर्शनी सकिएको छ । यहि पुस ३ गतेदेखि औद्योगिक प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरेको औद्योगिक प्रदर्शनी बिहिबार सकिएको हो । १५ दिनसम्म सञ्चालन गरिएको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा ८ लाख दर्शकले अवलकोकन गरेको र ३० कराेड रुपैंया बराबरको कारोवार भएको रुपन्देही उद्योग संघका अध्यक्ष एवम् महोत्सव आयोजक मुलसमितिका संयोजक कृष्ण पराजुलीले जानकारी गराउनु भयो ।
स्वदेशी उत्पादनको प्रवद्र्धन, औद्योगिक विकास र पर्यटन विस्तारलाई जोड दिंदै आयोजना गरिएको प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शन तथा बजारीकरण, नयाँ प्रविधिको खोजी, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, युवा तथा महिला उद्यमशीलता प्रोत्साहन र स्टार्टअप सिर्जनालाई प्राथमिकता दिइएको थियो । त्यस्तै उत्पादनकर्ता, उपभोक्ता, विज्ञ तथा सरकारी निकायबीच अन्तरसंवाद समेत गरिएको थियो ।
“समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार” भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, जुत्ता–चप्पल, खाद्यान्न, सूचना प्रविधि लगायतका ४५० स्टल रहेका थिए ।
प्रदर्शनीमा लोकदोहोरी प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुति, हास्य तथा सांगीतिक कार्यक्रम, विद्यालय तथा कलेजस्तरीय नृत्य प्रतियोगिता, लोकभजन, प्रदर्शनी आइडल, हिपहप तथा सामूहिक नृत्य प्रतियोगिताजस्ता मनोरञ्जनात्मक कार्यक्रमसमेत गरिएको थियो ।
मेलाकाे समापन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीको वातावरण मिलाउन नसकिए देशको उन्नति, समृद्धि र विकास सम्भव नहुने बताउनु भयाे ।
उहाँले उद्योगी व्यवसायीको मनोबल कमजोर बनाउने काम संघीय सरकारले गरेको टिप्पणी गर्नुभयो । तर, प्रदेश सरकारले भने सधैं उद्योगी र व्यवसायीको पक्षमा आवाज उठाउँदै आएको उहाँको भनाई छ । बिजुली कटौतीको विषयमा प्रदेश सरकारले पहिलोपटक खुलेर बोलेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री र अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।
बुटवललाई आर्थिक हबको रूपमा विकास गर्न उद्योगी व्यवसायीको योगदान आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सधैं उद्योगी व्यवसायीको पक्षमा उभिने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहोरा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा उत्कृष्ट स्टललाई सम्मान गरिएकाे थियाे ।