नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा सम्पन्न भएको छ । बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका प्रस्तावहरूमाथि छलफल गर्दै कार्यसमितिले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकले यही फागुन २९ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।
त्यसैगरी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले नेपाली काँग्रेसको केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा पुनर्निर्माण समिति गठन गर्ने निर्णय गरेको छ । साथै यही चैत १९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक समन्वयको जिम्मेवारी उपसभापति पुष्पा भुसाललाई प्रदान गरिएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यसका अतिरिक्त बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।