निर्वाचन आयोग, नेपालले निर्वाचन अवधिभर आमसञ्चार माध्यमले पालना गर्नुपर्ने आचारसंहिताबारे स्पष्ट निर्देशिका सार्वजनिक गरेको छ । आयोगका अनुसार निष्पक्ष, मर्यादित र तथ्यमा आधारित सूचना प्रवाह सुनिश्चित गर्न आमसञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण भएकाले के गर्ने र के नगर्ने भन्ने विषय स्पष्ट रूपमा तोकिएको हो ।
आचारसंहिताअनुसार आमसञ्चार माध्यमले निर्वाचनसम्बन्धी शिक्षामूलक समाचार र सूचनालाई उच्च प्राथमिकता दिनुपर्नेछ । निर्वाचन तथा मतदाता शिक्षासँग सम्बन्धित सामग्री स्थानीय स्तरमा प्रचलित सबै भाषालाई समेटी समानुपातिक ढंगले प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्ष रूपमा प्रस्तुत गर्नुपर्ने आयोगको निर्देशन छ ।
विभिन्न जातजाति, समुदाय, लिङ्ग, धर्म, भाषाभाषी तथा क्षेत्रबीचको सद्भाव नबिग्रने गरी समाचार सामग्री प्रकाशन गर्नुपर्ने र सबै राजनीतिक दल तथा उम्मेदवारलाई समान अवसर दिनुपर्ने पनि आचारसंहितामा उल्लेख छ । उम्मेदवार वा राजनीतिक दलसँग सम्बन्धित निर्वाचनसम्बन्धी सूचना तथा विज्ञापनको मिति र समयको अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
यता, आमसञ्चार माध्यमको सामाजिक सञ्जाल प्लेटफर्मबाट उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने आयोगले स्पष्ट पारेको छ । पेसागत आचारण र मर्यादाविपरीत हुने कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ ।
त्यसैगरी उम्मेदवार वा राजनीतिक दलको निर्वाचन प्रचारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने व्यवस्था गरिएको छ । आयोगले तोकेको समयसीमाभन्दा बढी समयसम्म निःशुल्क विज्ञापनप्रति जानकारी दिने गरी सामग्री प्रकाशन गर्न पाइने भए पनि मौन अवधिमा भने त्यस्ता कुनै पनि विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न पाइने छैन ।
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने आमसञ्चार माध्यममाथि कानुनअनुसार कारबाही हुने चेतावनी दिँदै सबै सञ्चार गृहलाई जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आग्रह गरेको छ ।