राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले लुम्बिनी प्रदेशका लागि उज्ज्वलप्रसाद कसजूलाई प्रदेश संयोजक नियुक्त गरेको छ । एनबीआईको वार्षिक साधारण सभाबाट भएको निर्णयअनुसार कसजूलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
एनबीआईका अध्यक्ष कुशकुमार जोशीले कसजुलाई लुम्बिनी प्रदेश संयोजकको जिम्मेवारी दिनुभएको छ। नियुक्तिपत्रअनुसार उनले लुम्बिनी प्रदेशमा एनबीआईका कार्यक्रम तथा अभियान विस्तार, स्थानीय व्यवसायिक संघ–संस्था, निजी क्षेत्र तथा सरोकारवालासँग समन्वय, नीति तथा निर्देशन कार्यान्वयन तथा केन्द्रीय कार्यालयसँग नियमित समन्वय गर्ने जिम्मेवारी सम्हाल्नेछन् ।
कसजू नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हुनुका साथै बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष हुन् । उनी सिद्धिविनायक फूड इण्डष्ट्रिजका अध्यक्षसमेत रहेका छन् । व्यवसायिक क्षेत्रमा लामो अनुभव र संस्थागत नेतृत्वको पृष्ठभूमि रहेका कसजूको भूमिकाले लुम्बिनी प्रदेशमा जिम्मेवार व्यवसायिक अभ्यास, दिगो आर्थिक विकास, संस्थागत सामाजिक उत्तरदायित्व र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने एनबीआईको विश्वास छ ।
एनबीआईले कसजूलाई नयाँ जिम्मेवारीका लागि हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।