दलहरूले बुझाएको समानुपातिक बन्द सूचीमा देखिएका त्रुटि सच्याउन निर्वाचन आयोगको पत्राचार

दलहरूले बुझाएको समानुपातिक बन्द सूचीमा देखिएका त्रुटि सच्याउन निर्वाचन आयोगको पत्राचार

राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक निर्वाचनतर्फको ५८ वटै बन्दसूचीमा त्रुटि भेटिएपछि आयोगले सच्याएर पुनः बुझाउन पत्राचार गरेको छ । समानुपातिक प्रणालीअन्तर्गत ५४ दलले एकल र १० दलले गठबन्धनमार्फत ४ वटा गरी कुल ५८ बन्दसूची पेस गरेका थिए ।
आयोगले बन्दसूचीको छानबिन गर्दा समावेशी ‘क्लस्टर’ नमिलाइएको, ऐनले तोकेको प्रतिनिधित्वको प्रतिशतअनुसार उम्मेदवार नसमेटिएको, अनिवार्य कागजात अपूरो रहेकोलगायत त्रुटि फेला पारेको हो । त्रुटि सच्याएर बुझाउन आयोगले पुस २७ गेत सम्मको समय दिएको छ ।
आयोगका अनुसार कतिपय दलले बन्दसूचीमा उम्मेदवारको नागरिकता, मतदाता नामावलीको निस्सा, मञ्जुरीनामा र स्वघोषणाजस्ता आवश्यक कागजात समावेश गरेका छैनन् । यस्तै, कम्तीमा एक जना अपांगता भएका व्यक्ति समेटिनुपर्ने व्यवस्था पालना नगरेको, तोकिएको संख्यामा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व नगराएको तथा पिछडिएको क्षेत्रमा नपर्ने जिल्लालाई उक्त क्षेत्रमा देखाएर सूची बुझाइएको समेत पाइएको छ ।
प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार समानुपातिकतर्फ १ सय १० सिटका लागि दलहरूले जनसंख्याको अनुपातमा दलित १५, आदिवासी जनजाति ३२, खस आर्य ३३, मधेशी १८, थारू ७ र मुस्लिम समुदायबाट ५ जनाको नाम बन्दसूचीमा समावेश गर्नुपर्छ । त्यसमध्ये कम्तीमा ५७ महिला, ४ जना पिछडिएको क्षेत्रबाट र अपांगता भएका व्यक्तिको पनि प्रतिनिधित्व अनिवार्य गरिएको छ । तर, अधिकांश दलले यी मापदण्ड पालना नगरेको आयोगले जनाएको छ ।
निर्वाचन कार्यक्रमअनुसार ६४ दलले आयोगमा बन्दसूची बुझाएका थिए । समानुपातिकतर्फ ११० सिटका लागि कुल ३ हजार ४२४ जनाको उम्मेदवारी परेको छ । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार ऐन, नियम र निर्देशिकाले तोकेका प्रक्रिया र कागजातमा प्रायः सबै दलको बन्दसूचीमा उस्तै प्रकृतिका त्रुटि देखिएका छन् ।
उहाँका अनुसार रीत नपुगेका विषय दललाई जानकारी गराएर सच्याउन भनिएको र आयोगले औंल्याएका विषयबाहेक दलले आफूखुसी सूची परिवर्तन गर्न पाउँदैनन् ।
निर्वाचन कार्यतालिकाअनुसार पुस २८ सम्ममा उम्मेदवारले नाम फिर्ताका लागि निवेदन दिन सक्नेछन् । सामाजिक सञ्जालमा गरिएको घोषणा मान्य नहुने भन्दै आयोगले औपचारिक रूपमा निवेदन दिनुपर्ने स्पष्ट पारेको छ । उम्मेदवारले नाम फिर्ता लिएपछि त्यसको जानकारी आयोगले २९ पुसमा सम्बन्धित दललाई दिनेछ । रिक्त स्थानमा नयाँ नाम पठाउन पुस ३० देखि माघ २ गतेसम्मको समय तोकिएको छ ।
आयोगले माघ ४ मा बन्दसूची सार्वजनिक गर्नेछ । बन्दसूचीमा समावेश उम्मेदवारको योग्यतामाथि माघ १० गतेसम्म दाबी–विरोध गर्न सकिनेछ भने त्यसको छानबिनपछि माघ २० मा अन्तिम बन्दसूची प्रकाशन गरिने आयोगले जनाएको छ ।