प्रतिनीधि सभामा ५ निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा सबैभन्दा धेरै मतदाता क्षेत्र नं. १ मा देखिएको छ । ६ लाख ७२ हजार ५२३ जना मतदाता रहेको रुपन्देही जिल्लामा क्षेत्र नं. १ मा सबैभन्दा धेरै १ लाख ४६ हजार ८२४ मतदाता रहेका छन् । यस क्षेत्रमा महिला ७२ हजार ९६८, पुरुष ७३ हजार ८५४ र अन्य २ जना छन् । त्यसै सबैभन्दा कम मतदाता क्षेत्र नं. ४ मा रहेको छ । क्षेत्र नं. ४ मा क्षेत्र नं. ४ मा कुल १ लाख १६ हजार १७२ मतदाता छन् । यसमध्ये महिला ५० हजार ११० र पुरुष ६६ हजार ६२ जना छन् ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार १६ पालिका र १५५ वडा रहेको रुपन्देही जिल्लामा ६ लाख ७२ हजार ५२३ जना मतदाता मध्ये महिला मतदाता ३ लाख २६ हजार ३११, पुरुष ३ लाख ४६ हजार २०३ र अन्य ९ जना छन् ।
मतदाता धेरै रहेको क्षेत्र नं. १ मा मतदान स्थान र मतदान केन्द्र पनि अन्य क्षेत्रमा भन्दा धेरै छन् । जिल्लाभरका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ मा सबैभन्दा धेरै ४५ मतदान स्थल र १५९ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं. १ अन्तर्गत ओमसतीया गाउँपालिकाका ५, तिलोत्तमा नगरपालिकाका ९, देवदह नगरपालिकाका १२ र रोहिणी गाउँपालिकाका ७ वटा वडा पर्दछन् ।
क्षेत्र नं. २ मा कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । तीमध्ये महिला ७० हजार ७९३, पुरुष ६४ हजार २५४ र अन्य ३ जना छन् । यस क्षेत्रमा २४ मतदान स्थल र १३८ मतदान केन्द्र तोकिएका छन् । बुटवल उपमहानगरपालिकाका १३, सैनामैना नगरपालिकाका ४ र तिलोत्तमा नगरपालिकाका ६ वटा वडा यस क्षेत्रमा समेटिएका छन् ।
क्षेत्र नं. ३ मा १ लाख ४० हजार ३५ मतदाता छन् । महिला ६८ हजार ७७५, पुरुष ७१ हजार २५८ र अन्य २ जना रहेको विवरण छ । यहाँ ४६ मतदान स्थल र १५७ मतदान केन्द्र रहेका छन् । ओमसतीया, तिलोत्तमा, बुटवल, मायादेवी, शुद्धोदन, सिद्धार्थनगर र सियारीका ३६ वडा यस क्षेत्रमा पर्छन् ।
५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मतदाता रहेको क्षेत्र नं. ४ मा ४८ मतदान स्थल र १३३ मतदान केन्द्र तोकिएको छ । यो निर्वाचन क्षेत्रमा कोटहीमाई, मर्चवारी, मायादेवी, लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरीमाई र सियारीका ३१ वटा वडा समावेश छन् ।
त्यस्तै क्षेत्र नं. ५ मा १ लाख ३४ हजार ४४२ मतदाता रहेका छन् । महिला ६३ हजार ६६५, पुरुष ७० हजार ७७५ र अन्य २ जना छन् । यहाँ ४६ मतदान स्थल र १४५ मतदान केन्द्र छन् । कञ्चन, गैडहवा, मायादेवी, लुम्बिनी सांस्कृतिक नगरपालिका र सैनामैना नगरपालिकाका ३२ वटा वडा यस क्षेत्रमा पर्दछन् ।
वडा संख्याका हिसावले भने सबैभन्दा ठूलो क्षेत्र नं. ३ हो भने सबैभन्दा सानो क्षेत्र नं. २ हो । जिल्लाका १५५ वटा मध्ये क्षेत्र नं. ३ मा सबैभन्दा धेरै ३६ वटा वडा र क्षेत्र नं. २ मा सबैभन्दा कम २३ वटा वडा रहेका छन् ।